त्रिभुवन विमानस्थलमा प्रहरीबाटै कुटिए अध्यागमनका कर्मचारी

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन् ।

भन्सार अधिकृत छायालाल मोक्तान र विभाग प्रमुख गोगनबहादुर कमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका हुन् ।

सुरुमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल–फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको स्रोतको भनाइ छ ।

प्रहरी र मोक्तानबिच केही बेर भनाभन भएको थियो । केही बेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि हातपात गरेका थिए । अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो । लगत्तै उनी त्यहाँ पुगेका थिए ।

हमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसिटिभी फुटेज हेरिएको थियो । उक्त फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले चेकिङ गर्ने क्रममा सामान्य विवाद भएको बताए ।

Leave A Reply

Your email address will not be published.