देउवापुत्र जयवीरकोे विवाहमा खादा माला बन्देज, आर्मीकोमा पार्टी!

काठमाडौं- नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवाको माघ २१ गते बिहे हुँदैछ।

देउवा तथा आरजु राणा (देउवा) पुत्र जयवीरको सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो।

बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ।

बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ। जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ।

त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ। प्रधानमन्त्री पदबाट हटेपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका थिए।

तर, छोरोको बिहे आफ्नै घरबाट गर्ने तयारीका साथ उनी गत माघ ३ गते बूढानीलकण्ठस्थित निवास सरेका थिए। घर मर्मतको काम सकेर उनी निवास सरेका हुन्।

इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिव समेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।

जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। जयवीर र शिवानाले लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.