८ सय ६८ जना कुपोषित बालबालिका दार्चुलामा भेटिए

दार्चुला  – दार्चुलामा पछिल्लो दुई महिनाको अवधिमा ८ सय ६८ जना कुपोषित बालबालिका भेटिएका छन् । स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाभरीका स्वास्थ्य संस्थामार्फत सञ्चालन गरेको पोषणको उचाई अनुसार तोल मापन (जेडस्कोर) अभियान अन्तर्गत सो संख्यामा कुपोषित बालबालिका भेटिएका हुन् ।
स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार कुपोशित देखिएको संख्या ९ दशमलव ६८ प्रतिशत हो । यसले समेत पोषणको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई झनै झस्काएको छ ।
कोरोना संक्रमणका कारण लामो समयसम्म बालबालिकाको जाँच हुन सकेन । खोप लगाउने काम भए पनि तौल गर्ने कार्य नहुँदा कुपोषित बालबालिकाको पहिचान हुन सकेको थिएन । जसका कारण एकै पटक ठूलो संख्यामा कुपोषित बालबालिका भेटिएको जनस्वास्थ्य अधिकृत भट्ट बताउनुभयो ।
‘दुई महिनामा हामीले ६१ वटै वडामा जेड स्कोर अभियान चलाएर कुपोषित बालबालिकाको खोजी अभियान चलाएका हौं,’ भट्टले भन्नुभयो, ‘यो अभियान दार्चुलामा मात्रै सुरु भएको हो ।’ यो अभियान गर्न करौडौं खर्च हुने अवस्था थियो, । तर हामीले शून्य लगानीमै अभियान सञ्चालन गरेर कुपोषणको अवस्था पत्ता लगाएका छौ ।
जनस्वास्थ्य अधिकृत भट्टका अनुसार १ सय ६७ जना बालबालिकामा सिघ्र कडा खालको कुपोषण छ । यो संख्या कुल १ दशमलव ८६ प्रतिशत हो । सिघ्र कडा खालको कुपोषण अन्तर्गत बालक ७७ जना र बालिका ९० जना रहेका छन् । यस्तै मध्यम खालको सिघ्र कुपोषणको संख्या ७०१ जना रहेको छ ।
पोषणको उचाई अनुसार तौल मापन अभियान अन्तर्गत ५ वर्ष मुनिका ८ हजार ९६४ बालबालिकाको परिक्षण गरिएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिकाहरूको ९० प्रतिशत बौद्धिक विकास ५ वर्षमुनिकै उमेरमा भइसक्छ । अझ ८० प्रतिशत बौद्धिक विकास २ वर्षभित्रै भइसक्छ । यही उमेरमा बालबालिकाहरू कुपोषित भएका शारीरिकसँगै बौद्धिक विकासमा ठूलो असर पर्ने सक्ने पोषण स्वास्थ्यकर्मीहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.