काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताएका छन् ।
सोमवार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए ।
मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने बताए । उनले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको बताए । उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिवद्धता भएको बताए ।
मन्त्री साउदले अहिले आर्थिक चुनौति भोगिरहनु परेको बताए । उनले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए ।
उनले भने, ‘अब कुरा रह्यो आर्थिक चुनौतिको । हामीसँग तीन चार वटा कुरा छन् । जसमा नेपाल भाइब्रेण्ट छ । पहिलो कुरा हामीसँग भएको हाइड्रो इनर्जी । भारत, दुनियाँका जुनसुकै देशले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता के कुराका लागि गरेका छन् भने अब उनीहरुले जैविक इन्धनलाई लामो समयसम्म प्रयोग गर्न सक्दैनन् । उनीहरुको सबैको प्रतिवद्धता पानीबाट चल्ने, हावाबाट चल्ने वा सोलार इनर्जी । जो क्लिन इनर्जी छ, त्यसको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता बढेको छ । नेपाल त्यसको सबैभन्दा ठूलो श्रोतको रुपमा छ । १ लाख मेगावाटसम्मको राम्रोसँग सर्वे गरी देखाउन सक्यौँ भने त्यो राम्रो हुनेछ ।’
मन्त्री साउदले नेपालले १ लाख मेगावाटसम्मको विद्युत उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताए ।