काठमाडौं– बुधबार बेलुकीदेखि बिहीबारसम्म परेको वर्षातका साथै केही स्थानमा परेको हिमपातले जिल्लाको दार्मा गाउँपालिकाका भूकम्पपीडित वृद्धवृद्धा, बालबालिका, सुत्केरी र गर्भवतीलाई सास्ती थपिएको छ । वर्षातका साथै हिमपातले चिसो बढेपछि यहाँका अस्थायी टहरामा बसेका उनीहरू समस्यामा परेका हुन् ।
वर्षातपछि चिसो बढेका कारण अस्थायी टहरा नजिकै आगो बालेर शरीर तातो बनाउँदै दार्माका एक भूकम्पपीडित
अस्थायी टहरा गतिला नभएकाले हावापानी छिर्ने र बस्ने ठाउँ ओसिलो भएकाले यहाँका ५ सय १२ वृद्धवृद्धा, ४ सय बालबालिका, १ सय ८० गर्भवती, ७० सुत्केरी थप समस्यामा परेका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राती गएको भूकम्पका कारण सल्यानको दार्मा गाउँपालिकाका विभिन्न वडामा पहिलो तथ्यांक अनुसार १ हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएका छन् । लाभग्राही बढ्दै जाँदा अहिले घर क्षति हुनेको संख्या २ हजार २ सय पुगेको छ । पहिला त्रिपालमा बसेका भूकम्पपीडितमध्ये १ हजार बढी अस्थायी टहरामा र १ हजार भत्किएको घर मर्मत गरेर बस्दै आएका छन् ।
वर्षातपछि लेकमा भएको हिमपातले अन्य दिनको तुलनामा बिहीबारदेखि धेरै चिसो भएकाले अस्थायी टहरामा बस्न गाह्रो भएको र चिसोका कारण शारीरिक समस्या बढ्दै गएको दमको रोगको सिकार भएको दार्मा गाउँपालिका–५ भालुखोलाका ६५ वर्षीय चन्द्रबहादुर खड्काले बताए । अस्थायी टहरा बनाएर बसे पनि बुधबार र बिहीबार परेको पानी टहराभित्र चुहिएर ओढ्ने, ओछ्याउने कपडा भिजेको उनले जानकारी गराए । ‘चिसो शरीर कठ्यांग्रिएको छ । बिहानैदेखि आगो बालेर ताप्दै बस्नु परेको छ,’ उनले भने, ‘हावा चल्दा थप सास्ती भइरहेको छ ।’
अस्थायी टहरामा बस्दै आए पनि चिसोबाट बच्न कठिन भएको र शरीर कटकटी खाने, रुघाखोकी लाग्ने, पेट गडबडी हुने, ज्वरो आउनेजस्ता समस्या बल्झिरहेको देउपोलेका ४० वर्षीय घमण्ड खड्काले बताए । ‘अस्थायी टहरा बनाए पनि गतिलो छैन, वर्षातको पानी चुहिएको छ,’ उनले भने, ‘पर्याप्त मात्रामा न्याना कपडा नहुँदा पनि पानी पर्दा भित्र बस्न गाह्रो भएको हो ।’ अस्थायी टहरा नबाए पनि चिसोबाट बच्न हम्मेहम्मे परेको उनको भनाइ छ ।
वर्षातपछिको चिसोले गर्दा आफ्नो भन्दा बच्चालाई समस्या भएको दार्मा गाउँपालिका–५ लिरेडाँडाकी १९ वर्षीया सुत्केरी महिला विन्दु खड्काले बताइन् । चिसोकै कारण सुरुदेखि नै बच्चालाई बेलाबेलामा विभिन्न किसिमको समस्या देखिइरहेको उनले जानकारी गराइन् । अहिले अस्थायी टहरामा बस्दै आए पनि समस्या अहिले पनि जहाँको त्यहीं रहेको उनको भनाइ छ ।
पहिला त्रिपालमा बस्दा बिरामी परेको साता दिनपछि उपचारपश्चात् ठिक भए पनि वर्षातपछिको चिसोले समस्या दोहोरिने चिन्ताले सताएको भालुखोलाकी २३ वर्षीया सुत्केरी पुष्पा केसीले बताइन् । चिसोबाट बच्न भूकम्प गएदेखि विभिन्न किसिमका संघर्ष गर्नुपरेको उनले जानकारी गराइन् । सरकारले भूकम्पपीडितका लागि खासै चासो दिएजस्तो नदेखिएको उनको गुनासो छ ।
वर्षात र हिमपातको चिसोले गर्दा अस्थायी टहरा, भत्किएको घर मर्मत गरेर बसेका ५ सय १२ वृद्धवृद्धा, दीर्घरोगी, ४ सय बालबालिका, ७० सुत्केरी र १ सय ८० गर्भवती पछिल्लो समयमा बढी समस्यामा परेको र चिसोका कारण उनीहरूलाई सास्ती भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक यज्ञबहादुर बस्नेतले बताए । मौसम परिवर्तनसँगै हिजोआज धेरैजसोमा रुघाखोकीको समस्या देखिएका बेला वर्षातपछि बढेको चिसोले झनै समस्या निम्त्याउने सम्भावना बढेको उनले जानकारी गराए । चिसोले गर्दा वृद्धवृद्धामा दम, बालिबालिकामा निमोनिया, सुत्केरी तथा गर्भवतीमा पखाला लगायत समस्या देखिने भएकाले उच्च सतर्कता अपनाउन उनले सबैलाई आग्रह गरेका छन् ।
वर्षातपछि केही चिसो देखिएकाले दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले अस्थायी टहरा तथा भत्किएको घर मर्मत गरेर बसेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । दार्मामा भूकम्प गएपछि १ हजार १ सय ७९ घर–परिवार विस्थापित भएकामा अहिले सबै अस्थायी टहरामा सरेको उनले जानकारी गराए । कान्तिपुर