चुनावी गठबन्धन नगर्न कांग्रेस महामन्त्रीद्वयको प्रस्ताव, गठबन्धनले पार्टीलाई क्षति पुर्‍याएको निचोड

महासमितिबाट प्रस्ताव पारित भए सत्ता गठबन्धनमै हलचल हुन सक्ने अड्कलबाजी

काठमाडौँ — कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अब हुने कुनै पनि तहका निर्वाचनमा चुनावी गठबन्धन (प्रिइलेक्सन एलायन्स) गर्न नहुने प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि राजधानीमा सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत गर्ने थापाको सांगठनिक र शर्माको समसामयिक दस्ताबेजको मस्यौदामा चुनावी गठबन्धनले पार्टीलाई क्षति पुर्‍याएको निचोड निकालिएको छ ।

यी दुवै प्रस्ताव छलफलका लागि बिहीबारदेखि सुरु पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत भएका छन् । थापा र शर्माका अतिरिक्त पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति र सरकारका तर्फबाट अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रबारे प्रस्ताव प्रस्तुत गरेका छन् । यी दस्ताबेजहरू केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएपछि महासमिति बैठकमा प्रस्तुत हुनेछन् ।

महामन्त्रीद्वयले चुनावी गठबन्धनको विपक्षमा राखेको प्रस्ताव महासमितिले पारित गरेमा वर्तमान गठबन्धनमाथि नै संशय उत्पन्न हुन सक्ने बुझाइ पार्टी नेतृत्वको छ । संस्थापनपक्षीय एक केन्द्रीय सदस्यका अनुसार उक्त नीति पारित गरे सरकारको नेतृत्व लिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमै पुनर्विचार गर्न भय कांग्रेस नेतृत्वलाई छ । ‘पार्टी सभापति गठबन्धनमा जाने वा नजाने कुरालाई अहिल्यै नीतिगत विषय बनाएर निर्णय गर्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ,’ ती सदस्यले भने, ‘महामन्त्रीहरूले प्रस्ताव ल्याए पनि बैठकबाट पारित नै भइहाल्छ भन्ने स्थिति छैन ।’

थापाको प्रस्तावमा गत निर्वाचनमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म राजनीतिक इमानदारिता प्रदर्शन गर्ने तर आगामी चुनावमा गठबन्धन नगर्ने नीति पारित गर्नुपर्ने उल्लेख छ । निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा साझा नीति तथा कार्यक्रम बनाएर सरकार गठन स्वाभाविक भए पनि निर्वाचनअघि नै तालमेल गर्नु उपयुक्त नहुने उनको तर्क छ ।

अर्का महामन्त्री शर्माले पनि कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएकाले तिनको विश्वासलाई पुनर्जागृत गर्न पनि गठबन्धनमा जान नहुने प्रस्ताव गरेका छन् । ‘गठबन्धनमार्फत पहिलो दल त बन्यौं तर समानुपातिकतर्फ ०७४ को तुलनामा हामीले करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण के हो रु,’ शर्माले प्रस्ताव गरेका छन्, ‘अहिले हामी जुन गठबन्धनमा छौं, त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो । अतः त्यसमा निरन्तरता चाहँदा हामीबीच अलमल र अस्पष्टता होइन, सुस्पष्ट र प्रतिबद्धता जरुरी हुन्छ ।’

उपसभापति खड्काले आफ्नो प्रस्तावमा राजनीतिमा निराशा र आर्थिक दूरवस्थाले संक्रमणकाल बढ्नुमा ०७४ मा बनेको केपी शर्मा ओली नेतृत्वको नेकपा सरकार मुख्य जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको, समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न नसकेको उल्लेख गरेका छन् । अर्थमन्त्री महतले आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा अघि बढिरहेको तथ्यगत विवरणसहितको प्रस्ताव प्रस्तुत गरेका छन् । यी प्रस्तावमाथि शुक्रबारदेखि छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.