ड्यूटीमा रहेकी श्रीमतीको एसएसपीका बडिगार्डले गरेको हत्याको प्रमुख कारण के हो त ?

काठमाडौं- दाङको घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भिर वहस सिर्जना भएको छ । घोराहीको मुख्यचोक नै मानिने दामोदर चोकमा श्रीमान्‌ले प्रहरी जवान रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या गरेपछि शान्ति सुरक्षा अत्यन्तै कमजोर रहेको जिल्लातहमा विश्लेषण हुन थालेको छ । केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेर आफैं प्रहरीकहाँ पुगेका थिए ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको थियो ।

थापालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले साढे ७ बजेतिर गोली हानेका थिए । एसएसपीका रनर भई तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री बिहीबार मोटरसाइकलमा घोराही आएर थापाको हत्या गरेका हुन् । पारिवारिक कलहकै कारण धनमायाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । यही माघमा धनमायाले अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी भन्छन्, ‘श्रीमान– श्रीमतीबीच बेमेलका कारण गोली हान्नेसम्मको घटना भएको देखिएको छ, प्रारम्भिक चरणको अनुसन्धानमा पारिवारिक कलह नै देखेका छौं ।’

बजारबीचमा प्रहरी बीटमा साथीसँगै ड्यूटीमा रहेकी पत्नी धनमायालाई केही काम छ भनी बोलाएर यमबहादुरले गोली हानेको एसपीले बताए । उनले गोली हानेर घोराहीको हस्पिटल रोड हुँदै भागेको सीसीटीभि फुटेजमा देखिएपछि प्रहरीले पछ्याउँदै पक्रेको थियो । भे. १२ प ११५० नम्बरको मोटरसाइकलमा घोराही बजार प्रवेश गरेका झाँक्री गोली हानी भाग्दै गरेको अवस्थामा पेस्तोलसहीत अर्जुनखोलाबाट पक्राउ परेका थिए ।

उनीहरूका एक छोरा छन् । धनमायाले सहकर्मीमाझ श्रीमान्‌ले फोनमा मार्ने धम्की दिने गरेको बताउँथिन् ।

Leave A Reply

Your email address will not be published.