काठमाडौं– धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ । भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुर मैनामैनी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रत्यक्षदर्शी धर्म राईले बताए ।
को.१ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । १४ जना सवार जीपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए ।
जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको डीएसपी पाठकले बताएका छन् ।