सुन तस्करीको प्रतिवेदन अध्ययनपछि प्रधानमन्त्रीसँग गृहमन्त्री रबिको भेट

काठमाडौं– सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

गृहमन्त्रीको सचिवालयमा कार्यरत प्रतिभा रावलले गृहमन्त्री लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग भेट गरेको अनलाइनखबरसँग पुष्टि गरिन् । लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएका छन् ।

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे आयोगले अध्ययन गरेको थियो । त्यसरी प्रहरी कारबाहीमा छुटेकाहरुलाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्य बताउँछन् ।

आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन लामिछानेले अध्ययन गरेका थिए । आयोगका अध्यक्ष आचार्यका अनुसार, कारबाही सिफारिसका विषयहरु ४८५ पृष्ठको प्रतिवेदनको परिच्छेद १३ मा रहेको ब्रिफिङ गरिएको थियो ।

लगत्तै अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । यसपछि उनले प्रहरी महानिरीक्षक कुँवरलाई छलफलका लागि बोलाएका हुन् ।

आयोगले सीआईबीले बयान कागज गरेर छाडेका २१ जनालाई बयान गराएको थियो । थप १४ जनासँग पनि आयोगले सोधपुछ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.