गृहमन्त्री लामिछानेलाई भेट्न पुगे मेयर बालेन

काठमाडौं– गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा हिजो भएको भेटमा आपसी सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको स्रोतले बताए ।

मेयर बालेन आफ्ना पुरानै चासो लिएर गृहमन्त्री भेट्न पुगेका थिए । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका बालेन लामिछानेसँग ट्युनिङ मिलाउने प्रयासमा छन् । श्रेष्ठ गृहमन्त्री हुँदा राखेका प्रस्तावहरुको फलोअपका लागि उनले लामिछानेलाई भेटेको महानगर स्रोतले बतायो ।

भेटवार्तामा बालेनले सुकुम्बासी समस्या समाधानबारे आफूले राखेको प्रस्तावमा के भयो भन्ने जिज्ञासा राखेका थिए । ‘सुकुम्बासीको व्यवस्थापनमा म अगाडि बढेँ, तर गृह मन्त्रालयका कारण योजना सफल हुन सकेन’, बालेनले भने ।

उनले तीनकुनेको पार्कमा केही व्यक्तिको जग्गा परेको र त्यसको मुआब्जा वितरणको विषयमा मन्त्रालयमा फाइल अड्केको सुनाए । यसैगरि, उनले काठमाडौंका केही स्थान ‘नो भेइकल जोन’ बनाउने आफ्नो अवधारणा प्रस्तुत गरे ।

पार्किङ खाली गरिएको न्यूरोडमा फुटपाथ बढाउने योजनाबारे पनि गृहमन्त्रीलाई अवगत गराए । सार्वजनिक यातायातलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउन गृह मन्त्रालयले ध्यान दिन उनको आग्रह थियो ।

गृहमन्त्री लामिछानेले पनि मेयरबाट यसअघि पेश गरिएको प्रस्तावबारे बुझेर आफूले आवश्यक निर्णय लिने आश्वासन दिए । स्रोतका अनुसार बालेनले गृहमन्त्रीसँग भेटको फोटो नखिच्न आग्रह गरेका थिए । रवि दोस्रोपटक गृहमन्त्री भएपछि पहिलोपटक बालेनले उनलाई भेटेका हुन् ।

Leave A Reply

Your email address will not be published.