नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ ।

आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ ।

आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको थियो ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.