नेपाल र चीनबीच दुईटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ — नेपाल र चीनबीच शुक्रबार दुईटा सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री वर्षमान पुनसहित आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको अर्थमन्त्री पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुयाएको पनि बताए ।

चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताए । राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एकएक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उनले जनाए ।उनले आफूहरु तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रसंग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताए ।

Leave A Reply

Your email address will not be published.