देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि…

काठमाडौँ– बझाङमा देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्बिर मङ्गलवार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापरबाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मङ्गलवार केही बेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काराकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनिललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्‍याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनिललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए । प्लास्टर सकिएपछि भोलि अपरेसन हुन्छ भन्दै स्वास्थ्यकर्मीले सुनिललाई आदेशको जिम्मा लगाए । आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । क्यान्टिनमा पुगेपछि हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ । आदेशले  भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् ।

मङ्गलवार साँझ शल्यक्रियापछि बुधवार अस्पतालले सुनिललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको हो ।

Leave A Reply

Your email address will not be published.