काठमाडौं– नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूलाई जिल्लामा पठाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा चार महिनाको समय दिएर केन्द्रीय सदस्यलाई जिल्लामा खटाउनेबारे छलफल भएको हो । यसबारे थप निर्णय २३ गते बस्ने केन्द्रीय समितिको बैठकले लिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनले भने, ‘पार्टी संगठनलाई जीवन्त, गतिशील बनाउन, सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई चार महिनाको सयम दिएर जिल्लालाई सशक्त बनाउन पठाउनेबारे छलफल भएको छ ।’ उनले आजको बैठकमा केन्द्रीय समितिको बैठकमा पेश गर्ने प्रस्तावको बारेमा पनि छलफल भएको बताए ।
पौडेलले भने, ‘केन्द्रीय समितिको बैठकमा पेस गरेर महासमितिको प्रस्तावलाई पारित गर्ने भनिएको थियो । त्यही प्रस्तावहरूलाई पूर्णता दिने, र केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने भनेको कुरामा पनि छलफल भयो । महासमिति सदस्यहरूले दिएको सुझावहरूलाई समेट्ने काम भइरहेको छ ।’
उनले भ्रातृ संस्थाहरूको महाधिवेशन चैत मसान्तसम्म गरिसक्न निर्देशक समिति बनाउने र त्यसले आवश्यक सहजीकरण गर्ने बताए । यस्तै बैठकमा सभापतिले गठन गर्नुपर्ने विभागहरूको विषयमा पनि छलफल भएको छ ।