२३ दिनमा उठ्यो करिब आधा खर्ब राजस्व

काठमाडौं– संघीय सरकारले आर्थिक वर्षको पहिले २३ दिनमा करिब आधा खर्ब राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । गतवर्ष यसै अवधिमा ४१ अर्ब राजस्व उठाएको थियो । गत वर्षको तुलनामा चालु वर्ष राजस्व संकलन बढी भएको छ ।

आर्थिक बर्षको शुरुवातबाटै राजस्व संकलनमा सुधार देखिएको छ । यद्यपि सरकारले चालुवर्ष निकै महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको छ । १४ खर्ब २२ अर्ब बढी राजस्व संकलनको लक्ष्य लिएको सरकारले यसका लागि कडा मेहनत गर्नुपर्ने बताएको छ ।

राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ’, अर्थमन्त्री पौडेलले भने । विगतमा राजश्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको उनले बताए ।

साउनको २३ दिनमा ४ अर्ब ५९ करोड रुपैयाँ चालु खर्च भएको छ । यसका लागि सरकारले चालू वर्ष ११ खर्ब ४१ अर्ब बजेट विनियोजन गरेको छ ।

Leave A Reply

Your email address will not be published.