तनहुँ बस दुर्घटना : १२ घाइतेलाई उपचारकालागि काठमाडौं पठाइयो

काठमाडौं— तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनास्थलबाट उद्धार गरी आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार गरिएको र आवश्यकताका आधारमा १२ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

उनका अनुसार अर्का एक घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । अन्यको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो ।

बसमा चालकसहित ४३ जना सवार थिए । प्रहरीका अनुसार उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भारतको गोरखपुरबाट पर्यटक लिएर भदौ ४ गते नेपाल भित्रिएको बसले पर्यटकलाई पोखरा घुमाएर काठमाडौंतर्फ ल्याइरहेको थियो ।

Leave A Reply

Your email address will not be published.