कञ्चनपुरमा ईन्स्पेक्टर शाहीसहित ५ प्रहरी कुटिए, भ्यान तोडफोड

काठमाडौं– कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ।

गएराति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा गस्तीमा निस्केको शाहीसहित ९ जनाको प्रहरी टोली चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ। चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाही सहित ९ जनाको प्रहरी टोली भ्यान गस्तीमा निस्केको थियो।

गस्तीमा निस्केका बेला पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको ईन्स्पेक्टर शाहीले जानकारी दिए। खडखडे भईरहेको थियो, सम्झाएर नियन्त्रण गर्न खोज्दा ममाथि २५/३० जनाको समुहले आक्रमण गरे।ु उनले भने, आक्रमणबाट मेरो कानमा चोट लागेको छ, अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको छ।

आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए।

आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा उपचार भएको थियो। आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको भनाई छ।

Leave A Reply

Your email address will not be published.