काभ्रेमा बाढी र पहिरोमा परेर हालसम्म ७० जनाको मृत्यु

काठमाडौं— शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ ।

काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको कार्यालयबाट प्राप्त विवरणमा देखिन्छ । धेरै प्रभावित काभ्रेको पनौती नगरपालिकामा ८ जना महिला, ८ जना पुरुष, १ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

प्रहरी उपरीक्षक खड्काका अनुसार बेथानचोक गाउँपालिकामा ३ जना महिला र ८ जना पुरुष र १ जना बालक गरी १२ जना, तेमाल गाउँपालिकामा ७ जना महिला, २ जना पुरुष र १ जना बालक गरी १० जना, मण्डनदेउपुर नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक , १ जना बालिका गरी ७ जना , रोशी गाउँपालिकामा ५ जना महिला, १ जना बालक, १ जना बालिका गरी ७ जना, नमोबुद्ध नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा १ जना पुरुष, १ जना बालक गरी २ जना, बनेपा नगरपालिकामा १ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ३ जना, भुम्लु गाउँपालिकामा १ जना महिला, १ जना पुरुष र १ जना बालिका गरी ३ जना, चौरी देउराली गाउँपालिकामा १ जना महिलाको मृत्यु भएको उनले जानकारी दिइन् । उनका अनुसार, हालसम्म महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाबाट मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । बाढी र पहिरोमा परी काभ्रेमा ७५ जना घाइते र ६ जना बेपत्ता भएको प्रहरीले जनाकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.