सुदूरपश्चिम खेलकुद परिषद्को ठुलो ला`परबाही, नेपाल भलिबल संघलाई जानकारी नगराई मनोमानी ढंगले खेल सञ्चालन
दार्चुला– सुदूरपश्चिम खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको छनोट प्रतियोगिता नेपाल भलिबल संघलाई जानकारी नगराई मनोमानी ढंगले सञ्चालन गरेको खुलासा भएको छ।
नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्श समितिका संयोजक हरक सिंह धामीका अनुसार संघको नियमअनुसार लाइसेन्स प्राप्त रेफ्री मात्र खेल सञ्चालन गर्न पाउने भए पनि दार्चुला र बझाङबीच भएको खेलमा अभिलेखीकरण नभएका विष्णु चौधरीलाई रेफ्रीको जिम्मेवारी दिइएको थियो। खेलका क्रममा विवाद उत्पन्न भएपछि पाँचौँ सेटमा रेफ्री चौधरीलाई हटाइएको दार्चुलाका खेलाडीहरूले बताएका छन्।गलत निर्णयका कारण दार्चुलाका प्रशिक्षक भोजराज जोशीले खेलाडीहरू अन्यायमा परेको दाबी गरेका छन्।
नेपाल भलिबल संघले नियमविपरीत खेल सञ्चालन गर्नेहरू विरुद्ध लिखित उजुरी आएमा कारबाही गरिने जनाएको छ।
भलिबल संघको अनुमति बिना खेल सञ्चालन गरिएका घटनामा संघले जिम्मेवारी नलिने र संलग्न रेफ्रीहरूलाई कारबाही गरिने धामीले बताए। त्यस्तै, महिलातर्फको सेमिफाइनल खेलमा प्रथम रेफ्री घुमन चौधरी (कैलाली) र दोस्रो रेफ्री प्रेमचन्द (बैतडी) ले नियमविपरीत लिबेरो परिवर्तन गर्न दिएकाले दार्चुला टिमले अन्याय महसुस गरेको आरोप लगाएको छ।