दार्चुला- दार्चुलाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ।
दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा आयोजनाको शिलान्यास सम्पन्न भएको हो। आयोजनाको ड्याम लाम्बगरमा तथा विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ।
३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको जानकारी सञ्चालक गुरु न्यौपानेले दिनुभएको छ। साथै, शेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ।
शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र विक्रमसिंह धामी समेत सहभागी थिए।
यसै अवसरमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन पनि प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य विक्रमसिंह धामी र मानबहादुर धामी समेत उपस्थित हुनुहुन्थ्यो।
