काठमाडौं– मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको छ ।
सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरेको छ ।
‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ ।
उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ ।
विधेयकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्तिको विद्यमान व्यवस्थामा परिवर्तन गर्दै सवारी साधनका आधारमा उमेरहद तथा शैक्षिक योग्यतासमेत निर्धारण गरेको छ । दफा १४ मा ‘चालकका लागि अयोग्यता’ शीर्षकमा त्यस्तो व्यवस्था गरिएको हो ।
उक्त दफामा ठूला सवारी साधनका चालकको उमेर कम्तिमा २३ वर्ष र मझौला तथा सानो (चार पांग्रे) का हकमा पूरा भएको हुनुपर्ने उल्लेख छ । साढे तीन र दुई पांग्रे सवारी साधन (मोटरसाइकल) चालकका हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
विद्यमान व्यवस्थामा नेपाली नागरिकता प्राप्त गरेको कुनै पनि व्यक्तिले लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार १६ वर्षकै उमेरदेखि सवारी साधन चलाउन पाइने सुविधा थियो । व्यवसायिक सवारी साधन चलाउने चालकले कक्षा ८ उत्तीर्ण नगरेको अवस्थामा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नपाइने व्यवस्था गरिएको छ ।
यद्यपि, विधेयकको दफा २० को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेको भए कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था आकर्षित नहुने उल्लेख छ । दफा २० कै उपदाफ ३ मा त्यस्ता सवारी चालकले प्रत्येक वर्ष मान्यताप्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई त्यसको रिपोर्ट साथमै राख्नुपर्ने व्यवस्था छ ।