स्ववियु निर्वाचन ः दार्चुलाका क्याम्पसमा भागबण्डा गर्ने तीन विद्यार्थी संगठनबीच सहमति

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दार्चुलाका तीनओटा विद्यार्थी संगठनहरुले भागबण्डा गर्ने सहमति गरेका छन् ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच ओटा क्याम्पसमा स्ववियु निर्वाचनमा भागबण्डा गर्ने विद्यार्थी संगठनहरुबीच आज सहमति भएको हो ।

जिल्लामा क्रियाशिल नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बीच चुनावमा भागबण्डाको सहमति भएको हो ।सहमति पत्रमा अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद जोशी, नेविसंघका कार्यवाहक अध्यक्ष दिपक खाती र अखिल क्रान्तिकारीका अध्यक्ष राजेन्द्र रावलले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रलाई जिल्लामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरिएको छ । सहमति अनुसार अनेरास्ववियुले दुई, नेविसंघले दुई र अखिल क्रान्तिकारीले एक क्याम्पसमा नेतृत्व लिने भएका छन् । अपिनाम्पा क्याम्पस हुती र राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघले नेतृत्व लिने सहमति भएको छ भने कृष्ण स्नातक क्याम्पस लाली र लटिनाथ क्याम्पस मार्मामा अनेरास्ववियुले नेतृत्व लिने सहमति भएको छ । यस्तै शंकरपुर क्याम्पस पस्तीमा अनेरास्ववियु क्रान्तिकारीले नेतृत्व लिने सहमति भएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.