बैतडीको बनारसीधाममा ऐतिहासिक कोटीहोम: चैत १७ देखि महायज्ञ सुरु

दार्चुला — बैतडीको पाटन नगरपालिका–३ स्थित बनारसीधाममा चैत १७ गतेदेखि सहस्त्रचण्डी कोटीहोम, १०८ श्रीमद्भागवत महापुराण, तथा अतिरुद्राभिषेक महायज्ञ सुरु हुने भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो अनुष्ठानको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ।

बनारसीधाम परिसरमा आयोजना गरिने कोटीहोममा १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन, ५ हजार ५ सय ५५ शालीग्रामसिला पूजा, ४ हजार ४ सय ४४ कलश पूजा, १०८ अखण्ड रामायण पाठ, तथा अन्य वैदिक अनुष्ठान गरिनेछ।

गंगा संगम क्षेत्रमा चार पटक महाआरती तथा विभिन्न धार्मिक पाठपारायण गरिनेछ। यस महायज्ञमा दक्षिण भारत, काशी बनारस, तथा नेपालका जगद्गुरु, भागवताचार्य र विद्वान गुरुहरूको समेत उपस्थिति रहनेछ।

धार्मिक अनुष्ठानमार्फत बनारसीधामको सांस्कृतिक, ऐतिहासिक, भौतिक तथा आर्थिक समग्र विकास गर्ने उद्देश्य रहेको छ। मुख्य पूजारी दलित हुने परम्परा रहेको यस मन्दिरलाई विभेदरहित क्षेत्रको सन्देश प्रवाह गर्ने प्रयास समेत गरिएको छ।

करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको यो कोटीहोम महायज्ञका लागि सोही अनुपातमा भेटी संकलन हुने अपेक्षा गरिएको छ। संकलित रकम मन्दिरको स्तरवृद्धिमा खर्च गरिने आयोजकले जनाएको छ।

बनारसीधाम सुदूरपश्चिमकै प्रमुख शक्तिपीठका रूपमा परिचित छ। हरेक वर्ष यहाँ माघ शुक्लपक्षको शैल्यदशमी, साउने मेला, मकर मेला, गंगादशहरा मेला, अक्षय तृतीया मेला लगायत धार्मिक पर्वहरूमा विशेष पूजा, स्नान तथा उत्सव आयोजना गरिन्छ।

पौराणिक मान्यताअनुसार द्वापर युगमा देवता र दैत्यबीच भएको युद्धका क्रममा बनारसीले १०० मनको गदा प्रहार गरी महाभयानक दैत्यहरूको वध गरेको कथन छ। त्यसपछि देवताहरूले स्वीकृति दिँदै यस स्थानलाई ‘बनारसीधाम’ नामकरण गरेको धार्मिक किंवदन्ती छ।

Leave A Reply

Your email address will not be published.