दार्चुलाका दुई क्याम्पसमा विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ता

 

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि दार्चुलाका दुई क्याम्पसमा विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ता भएका छन् । आसन्न चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ता भएका हुन् ।

जिल्ला सदरमुकामस्थितको दार्चुला बहुमुखी क्याम्पसमा चार विद्यार्थी संघ÷संगठनले दर्ता गराएका छन भने गाकुलेश्वर बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठन र एक विद्यार्थी समूह दर्ता भएको हो ।दार्चुला बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दर्ता गरिएको निर्वाचन अधिकृत करन सिंह साउँदले जानकारी दिए ।

यस्तै गोकुलेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र एक स्वतन्त्र विद्यार्थी समूहले दर्ता गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार मंगलवार निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने कार्यक्रम थियो । दिउँसो तीन बजेसम्म दर्ताको समय तोकिएको थियो । यसअघि चैत ५ गते सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दार्चुलामा तीन विद्यार्थी संघ संगठनहरुले आपसी समझदारी गरी भागबन्डा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.