दार्चुला। दार्चुलामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट प्रवाह भइरहेका सेवासम्बन्धी बृहत छलफल गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिकाको सभाहलमा सबै नगरपालिकाका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृत लगायत रोजगार संयोजकहरुको उपस्थितिमा अन्तरक्रिया छलफल गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको अध्यक्षतामा आयोजित छलफलतथा अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिमकी सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिइन । सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले दार्चुलामा वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, जान चाहनेहरुको मनोविज्ञान र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको वर्तमान अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका छन ।
यस्तै कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले वैदेशिक रोजगारसम्बन्धी संवैधानिक तथा कानूनी प्रावधान एवम् वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीहरुको भूमिकाका बारेमा जानकारी गराएका छन । कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पछिल्लो ३ वर्षमा राहादानी सिफारिस र वितरणको अवस्थाका बारेमा जानकारी समेत गराएका छन ।आर्थिक वर्ष २०७८÷०७९ देखि गत आर्थिक वर्ष २०८०÷०८१सम्म दार्चुलाबाट ४ हजार ६२ जनाको सिफारिस गरिएको छ । यस्तै तीन वर्षमा प्राप्त ३हजार ३७६ प्राप्त भएका छन । जसमध्ये वितरण ३ हजार २१४ जनालाई गरिएको छ ।
सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैदेशिक रोजगारीमा जाने युवाहरू पर्याप्त तालिम नलिई जानुका कारण धेरै समस्या भोग्नुपर्ने अवस्थाको सृजना हुने भएकाले यस्ता कार्यक्रमहरू उपयोगी हुने बताउनुभयो । साथै, उहाँले स्थानीय तहहरूले पनि जिम्मेवारी लिनुपर्ने भन्दै तालिम तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो ।
स्वीस सरकारको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा संघीय सरकार, प्रदेश सरकारको सहकार्यमा सञ्चालित सामि कार्यक्रमको उद्देश्य सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्नु रहेको सामाजिक विकास मन्त्रालयकी चम्पा जोशीले जानकारी दिनुभयो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अगामी आर्थिक वर्षबाट दार्चुलाका नौवटै स्थानीय तहमा लागु गरिने बताइएको छ । सामाजिक विकास मन्त्रालयका कार्यक्रम अधिकृत रामचन्द्र जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।