दार्चुला— बैतडीको पुर्चौडी नगरपालिका–१ स्थित विशालपार्क खेलमैदानमा आगामी वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुहुनेछ।
साथै, उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, प्रदेशसभा सदस्य जानकी ऐर बम तथा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहने छ।
जिल्लाका १० वटै स्थानीय तहबाट टिम तथा खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगिता पुर्चौडी नगरपालिका र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजना तथा सहकार्यमा सञ्चालन हुँदैछ।
भण्डारीका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्ट (कराते) गरी चार विधामा छात्र–छात्राहरूको सहभागिता रहनेछ। सबै खेल वैशाख ३ गते बिहान ६ बजेदेखि सुरु हुने कार्यक्रम रहेको छ।
राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले बैतडीको खेल क्षेत्रलाई थप गति दिने अपेक्षा गरिएको छ।