सासंद् बडूको पहल र बजेटमा कभर्डहल निर्माण हुदै

दार्चुला- जेठ १८ गते-दार्चुलाको जिल्ला सदरमुकाम खलङ्गामा सङ्घीय सरकारको लगानीमा कभर्डहल निर्माणको काम सुरु भएको छ । २०७० सालमा महाकाली नदीमा आएको विनासकारी बाढीले खलङ्गामा रहेको एकमात्र कभर्डहल र खेलमैदान बगाएको बाह्र वर्षपछि नयाँ कभर्डहल निर्माणको काम अगाडि बढेको हो । बाढीले खलङ्गास्थित खुलामञ्च, खेल मैदान र कभर्डहलमा पूर्णरूपमा क्षति भएको थियो । जिल्ला स्थित दुई राजनितिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा कभर्ड हल निर्माणका विषयमा छलफल र सहमति भएपछि खुलामञ्चको उत्तरतर्फको भागमा नयाँ कभर्डहल निर्माण हुन लागेको हो ।

यसअघि दुई दलको बिचमा जग्गाको सन्दर्भमा केहि असमति रहदा निर्माण कार्य अघि बढ्न सकेको थिएन । खुलामञ्चको दक्षिणतर्फ रहेको बाढीले क्षति पुर्‍याएको पुरानो कभर्डहललाई हटाएर खेल मैदान निर्माण गरिने र उत्तरतर्फको भागमा नयाँ कभर्डहल निर्माण भइरहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकीले जानकारी दिनुभयो । कभर्डहल निर्माणका बखतमा पनि खेलकुद गतिविधि सञ्चालन गर्न क्षतिग्रत पुरानो कभर्डहलको संरचना हटाइ खेल मैदान निर्माण गर्ने उहाँले बताउनुभयो ।

नयाँ कभर्डहल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले यसअघि नै डिपिआर तयार गरेको थियो । डिपिआर पछि निर्माण स्थलको माटो परिक्षण गरि टेण्डर आह्वान भएको तथा गत वैशाख २५ गते जगन्नाथ आरबी कन्ट्रक्सन निर्माण कम्पनीसँग एक करोड चौरासी लाखमा ठेक्का सम्झौता समेत भइसकेको सघन सहरी तथा भवन निर्माण आयोजना, डोटीका सबइन्जिनियर दिनेश जर्पेलले जानकारी दिनुभयो । सङ्सदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको एक करोड र राष्ट्रिय खेलकुद परिषद्को एक करोड गरी दुई करोडको टेन्डर भएकोमा एक करोड चौरासी लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले बताउनुभयो ।

जिल्लामा कभर्ड हल नहुँदा इन्डोर खेलहरू खेलाउन र खेल्न निकै समस्या भइरहेको एथ्लेटिक्सका खेलाडी ओमकार पालले बताउनुभयो । अहिले इन्डोर खेलका खेलाडीहरू सीमावर्ती भारतको धारचुला गएर खेल खेल्न बाध्य छन् । कभर्डहल नभएकै कारण जिल्ला स्तरीय खेलहरू समेत खेलाउन समस्या भएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् दार्चुलाका सङ्घीय साङ्सद दिलेन्द्रप्रसाद बडूले सङ्सदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट कभर्डहल निर्माणका लागि एक करोड रुपियाँ विनियोजन गर्नुभएको थियो । कभर्डहल निर्माण पश्चात जिल्लामा खेलकुदको उन्नती, प्रगति र विकास हुने अपेक्षा गरिएको छ । एक करोड चौरासी लाखमा हाललाई कभर्डहलको जग निर्माण हुने बताइएको छ । कभर्डहल निर्माण सम्पन्न गर्न अगामी आर्थिक वर्षमा थप बजेट प्राप्त हुने खेलकुद समिति दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.