किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय सङ्ग अन्तरक्रिया

दार्चुला, जेठ २४ गते-दार्चुला जिल्लामा किटजन्य रोग नियन्त्रण र निवारणका लागि बहुनिकाय सङ्ग अन्तरक्रिया गरिएको छ । जिल्लामा मनसुन सुरु हुनु अगावै समुदायमा किटजन्य रोगको प्रकोप फैलन नदिन महाकाली नगरपालिकाले बहुनिकाय सङ्ग अन्तरक्रिया गरी रोगको नियन्त्रण र निवारणका लागि छलफल गरेको हो । पछिल्लो समय गर्मीयाममा सबैभन्दा बढी देखा पर्ने डेङ्गु रोगलाई नियन्त्रण र निवारण गर्न समुदाय स्तरमा कार्यक्रम गरिएको महाकाली नगरपालिका दार्चुलाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर फस्र्वानले जानकारी दिनुभयो ।
मनसुन सुरुवात सङ्गै लाम्खुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि डेङ्गु सार्ने लाम्खुट्टे र त्यसका लार्भाहरु खोज र नष्ट गर अभियान सञ्चालन गर्न अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । गत विगतका वर्षहरुमा ढिला गरी सञ्चालन गरिने यो अभियान यसवर्ष मनसुन सुरु हुने वित्तिकै गर्न लागिएको बताइएको छ । नगरपालिकाले वडा नम्बर ५ किम्तडीमा बहुनिकाय सङ्ग शुक्रबार अन्तरक्रिया गरेको जनाएको छ । कार्यक्रममा डेङ्गु रोगका लक्षण, बच्ने उपायका बारेमा जानकारी दिइएको थियो ।
डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो । यो रोग डेङ्गु भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्दछन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् ।
डेङ्गुका लक्षणहरु-
सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिशत मानिसहरूमा रोगका कुनै लक्षणहरू देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन् । सङ्क्रमित मध्ये करीब ५ प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्दछ भने ती मध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ । त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकाहरूमा डेङ्गीको सङ्क्रमण हुँदा सामान्य रुगा तथा सङ्क्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्छ ।

Leave A Reply

Your email address will not be published.