दार्चुला– नेपाल एथलेटिक्स संघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशनबाट ओमकार पाल अध्यक्षमा निर्वाचित भएका छन्। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ खलंगामा सम्पन्न अधिवेशनले पालको नेतृत्वमा नयाँ जिल्ला समिति चयन गरेको हो।
कृष्ण स्नातक क्याम्पस लालीका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)अध्यक्ष समेत रहेका पालको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा गौरव चुनारा, सचिवमा दानसिंह कार्की, र कोषाध्यक्षमा गगनसिंह धामी चयन भएका छन्।
त्यसैगरी, समितिका सदस्यहरूमा करनसिंह धामी, धनमाया महता, दुर्गा महरा, अनुज पार्की, यशोदा चन्द, रोहित टमटा, लोकेन्द्र ओड र नविन पार्की चयन भएका छन्।
दार्चुला एथलेटिक्स संघका निवर्तमान अध्यक्ष दानसिंह कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकी प्रमुख अतिथि थिए। कार्यक्रममा खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिले जिल्लामा एथलेटिक्स खेलको प्रवर्द्धन, पूर्वाधार विकास तथा युवा प्रतिभाको खोजीमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।