दार्चुला । दार्चुलामा तुइनबाट खसेर ज्यान गुमाएका परिवारलाई कर्मचारी मिलन केन्द्रले आर्थिक सहयोग गरेको छ । बुधबार हिजो व्याँस गाउँपालिका–२ दुम्लीङका नारायण बुढाथोकीको परिवारलाई आर्थिक सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी अनिल पौँडेल नेतृत्वमा गएको टोलीले उक्त परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएको छ ।
कर्मचारी मिलन केन्द्रमार्फत संकलन गरिएको रु ४५ हजार ५६० रुपैयाँ रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । गर्भवती श्रीमतीलाई आवश्यक सामान किन्ने भनेर गत असार ३१ गते जिल्ला सदरमुकाम खलंगा जाँदै गर्दा तुइन चुडिएर बर्खाको महाकाली नदीमा बेपत्ता भएका नारायणको परिवारलाई कर्मचारी मिलन केन्द्रले आर्थिक सहयोग गरेको उहाँले बताउनु भयो ।
आर्थिक सहयोग हस्तान्तरण गर्न जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, कर्मचारी मिलन केन्द्रका अध्यक्ष जयराज पन्त, सुरक्षा निकाय कर्मचारीको टोली जिल्ला अस्पतालमा पुगेका थिए । बेपत्ता नारायण बुढाथोकीकी श्रीमती जानकी बुढाथोकीले यहि साउन २७ गते जिल्ला अस्पताल दार्चुलामा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्माएकी छिन् ।
अस्पताल स्रोतका अनुसार जानकी बुढाथोकी र छोरीको स्वास्थ्य अवस्था ठिकठाक रहेको जनाएको छ । नारायण महाकालीमा नदीमा बेपत्ता भएपछि अहिले उनको घरमा आमा ४५ वर्षीया कुस्मा बुढाथोकी संग छोरी भावना, बुहारी जानकी र नाती वर्ष १० का समिर मात्रै रहेका छन ।
कुस्मा बुढाथोकीका अन्य दुई छोरोको पहिलै नै ज्यान गएको थियो । श्रीमान समेत गुमाएकी कुस्मा बुढाथोकीको घरमा अहिले हृदय फेरि टुक्रिएको छ । जेठो सन्तान नारायणको सहारामा रहेकी, कुस्मा नारायणले पनि संसार छोडेपछि अहिले बेसाहारा जस्तै भएकी छन । उनी अहिले बुहारी छोरी, नातीको अनुहार हेर्दै दिनरात विताउन थालिकि छन ।