दार्चुला जिप दुर्घटना अपडेट : उपचारको क्रममा एक गर्भवती महिलाको ज्यान गयो

दार्चुलाको नौगाड गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा एक गर्भवती महिलाकोे ज्यान गएको छ ।

विहिबार विहान नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा टमटाको ज्यान गएको उहाँले बताउनुभयो । घाइते अरुको गोकुलेश्वरमै उपचार भइरहेको छ ।

नौगाडको होपरीबाट होपरीगाड तर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको थियो । घाइतेमध्ये अन्य खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्नालाई बढी चोट रहेको र अन्य सात जनाको अवस्था पनि सामान्य रहेको बताइएको छ । चालकसहित ११ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.