आमा मेरो संसार

आमा मेरो संसार

आमा,
तिमी मेरो जीवनको पहिलो धड्कन,
मेरो पहिलो शब्द, पहिलो मुस्कान,
तिमी बिना म को हुन्थेँ र कहाँ हुन्थेँ?
तिमी नै मेरो आधार,
तिमी नै मेरो संसार।

बाल्यकालमा जब मैले आँखै खोल्न सिक्दै थिएँ,
तिम्रो अनुहार नै पहिलो आकाश देख्थें।
तिम्रो काखमा सुरक्षित लाग्थ्यो,
जसरी चरा बच्चाले आफ्नै गुँडमा आश्रय पाउँछ।
तिमी बिना डरको अस्तित्व थिएन,
तिमी बिना पीडाको अनुभूति थिएन,
तिमी मात्र थियौ—
जसले मलाई संसार देखाइन्,
र संसारको अर्थ बुझाइन्।

आमा,
तिमी मेरो संसारको संगीत,
तिम्रो मायाले लेखिएको कविताको छन्द,
तिम्रो मुस्कानले सजिएको फूलको बगैँचा।
तिम्रो बोलीमा प्रेम,
तिम्रो मौनतामा बलिदान,
तिम्रो आँशुमा वियोग,
र तिम्रो हाँसोमा मेरो जीवन।

म थाक्दा,
तिमीले मलाई शक्ति दिन्छौ।
म रोएँ भने,
तिमीले आफ्नो आँचलको सिरकले आँसु पुछिदिन्छौ।
म हारेँ भने,
तिमीले मलाई जित्न विश्वास दिन्छौ।
तिमी बिना मेरो संसार अधुरो छ,
जसरी आकाश बिना ताराहरु अधुरा हुन्छन्।

आमा,
तिमी घरको उज्यालो,
तिमी घरको धड्कन,
तिमी घरको मन्दिर,
र तिमी नै मन्दिरको देवी।
तिम्रो मायाले घर स्वर्ग हुन्छ,
तिम्रो उपस्थितिले जीवन सधैं सजिलो लाग्छ।

बाल्यकालका ती रमाइला क्षणहरू सम्झिन्छु,
जब तिमीले मलाई आफ्ना खुट्टामा खेलाउँथ्यौ।
तिम्रो कथा सुनेर निदाउँथेँ,
तिम्रो गीतमा सपना देख्थेँ।
मलाई भोक लाग्दा,
तिमीले आफ्नो थालीको भाग पनि दिन्थ्यौ।
मलाई चिसो लाग्दा,
तिमीले आफ्नो कपडा ओढाइदिन्थ्यौ।
आमा,
तिमी नै त हो नि—
त्यो शीतल छायाँ,
जसले मेरो जीवनलाई बचाइरहेकी छ।

तिम्रो संघर्ष बुझ्न मैले धेरै समय लगाएँ।
जब तिमी बिहान सबेरै उठेर
मेरा लागि काम गर्न दौडिन्थ्यौ,
म सोच्थेँ— यो त सामान्य हो।
तर आज बुझ्छु,
तिम्रो प्रत्येक पसिनाको थोपा
मेरो भविष्यको जग थियो।
तिमीले आफ्ना सपनाहरू कुर्बानी गर्यौ,
मेरो सपना पुरा होस् भनेर।

आमा,
तिमी मेरो संसारको आकाश,
तिमी मेरो पृथ्वी,
तिमी मेरो बाटो,
तिमी मेरो लक्ष्य।
तिमी बिना,
मेरो अस्तित्वको कुनै अर्थ छैन।

जसरी घाम बिना संसार अन्धकार हुन्छ,
तिमी बिना मेरो जीवन अन्धकार हुन्छ।
जसरी पानी बिना नदी सुक्छ,
तिमी बिना मेरो हृदय सुकेर रित्तो हुन्छ।

आमा,
तिमीलाई वर्णन गर्न शब्दहरु सधैं अपुरो हुन्छन्।
तिम्रो माया समुद्रजस्तो अथाह छ,
तिम्रो आशीर्वाद हिमालयजस्तो अटल छ,
तिम्रो धैर्य आकाशजस्तो अनन्त छ,
र तिम्रो ममता फूलजस्तो कोमल छ।

लेखक:- नवीन सिंह धामी जनहित माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.