जुम्ला जिल्लामा अवस्थित सिंजा उपत्यकाकाे सभ्यताकाे बारेमा चर्चा गर्नु भन्दा अगाडी जुम्ला जिल्लाकाे संक्षिप्त परिचय उल्लेखगर्नु सान्दर्भिक हुन्छ । किनकि जुम्लाकाे सिंजा नेपाली भाषाकाे उदगम स्थल पनि
हाे । तर नेपालका राजनेताहरू, साहित्य- कार, वुद्धिजिबी आदि कसैकाे पनि सिंजा सभ्यता जाेगाउनतिर ध्यान नजानु बिडम्ब- नापूर्ण कुरा हाे ।
जुम्ला जिल्लाको भौगोलिक अवस्था :
जुम्ला जिल्ला २८ डिग्री ५८ देखि २९ डिग्री ३० उत्तरी अक्षांश, ८१ डिग्री ५१ डिग्री देखि ८२डिग्री १८ पूर्वी देशान्तर सम्म २५३१ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको कर्णाली प्रदेशमा पर्ने पाँच दुर्गम हिमाली जिल्लाहरू मध्ये जुम्ला एक जिल्ला हो । भौगोलिक रुपमा दुर्गम भए तापनि इतिहासमा जुम्ला जिल्लाको महत्त्वपूर्ण पहिचान रहेको छ । नेपाल राज्यको एकिकरण हुनु पूर्व वाइसे राज्यहरूको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवम् शक्तिशाली राज्यको रुपमा रहेको तथ्य प्रष्ट हुन्छ ।
यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचीन कालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरूले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडाहरु तिला र जवा दुई जुम्लाहा नदीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकीकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरू, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदीहरूले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ । यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोटसंग सीमाना जोडिएको छ ।
हामी ग्रीक सभ्यता, युराेपेली सभ्यता, पश्चिमेली सभ्यता आदि कुराहरू पढ्ने गर्छाैं । तर “नजिककाे तिर्थ हेला” भने जस्तै नेपाली भाषाकाे उद्गमस्थल सिंजाकाे वेवास्ता गरेकाे देख्दा आश्चर्य पनि लाग्न थालेकाे छ । हामी शिक्षाविद, इतिहासविद, समाजसेवी, नेता आदि भन्न मन पराउनेहरू देशकाे भाषा, संस्कृतिकाे सभ्यता बाेकेकाे सिंजाकाे बारेमा राज्य र अन्य कसैकाे खाेज अनुसन्धान तथा संरक्षणमा ध्यान नजानु दु:खद कुराे हाे । आफू इतिहासकाे विद्यार्थी नभएपनि सिंजाकाे वारेमा विभिन्न सामाजिक सञ्जाल र केही पुस्तकहरूकाे अध्ययन पश्चात् संक्षिप्त जानकारी पाठक समक्ष संप्रेषणगर्ने जमर्काे गरिरहेकाे छु ।
ईशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दर शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति तथा जानकारहरूले वताउने गरेका छन् ।
जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ । खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । यस्तै गरी बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो । चौथो शताब्दीमा शुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे-चौबीसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य सिंजा राज्य थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्गमस्थल पनि सिंजा नै हो भने नेपाल भाषा, सभ्यता, संस्कृति, संस्कार पनि सिंजाले नै जन्माएको हाे भन्नुमा अतिशयाेक्ति नहाेला सायद । शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये सिंजा सभ्यता पनि महत्वपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको जननी पनि सिंजा सभ्यतालाई मानिन्छ । तर समय परिवर्तनसँगै देशमा लाेकतान्त्रिक गणतन्त्र स्थापना भै सक्दा समेत खस, सिंजा राज्य, सिंजा सभ्यताको संरक्षण हुन नसक्नु विडम्बनापूर्ण कुरा हाे ।
कर्णाली प्रदेश जुम्ला जिल्ला अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यकाकाे भूगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई छिचाेल्दै बाहिर निस्केको छ । ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यका केही वर्षयता मात्र सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडीएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको ठाउँ सिंजा नै
हाे ।
जुम्ला जिल्लामा अवस्थित सिंजा खस भाषाको उद्गमस्थल हो । सिंजा उपत्यकामा १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको छ । सिंजा उपत्यका खस मल्लहरूको राजधानी हाे । १२ औं शताब्दीदेखि १४ औं शताब्दी- सम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको कुरा विभिन्न इतिहासमा उल्लेख भएकाे पाइन्छ । सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना-ठूला देवी देवताका मन्दिरहरू रहेका छन् ।
त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत सिंमा भेटिएकाे छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिंजा, सिह बाघ, ठूलाठूला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अङ्कहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेका छन् भनेर जुम्ला जिल्लामा बसाेबासगर्ने एकजना साथीबाट जानकारी पाएँ । नेपाली भाषाकाे उदगम स्थल सिंजा उपत्यकाकाे संरक्षण, खाेज अनुसन्धानमा राज्य उदासिन रहेकाे छ ।
सिंजा उपत्यका र मार्सी चामल दुवै एक अर्कोसँग जोडिएका चर्चित नाम हुन् । मार्सी धान जुम्ला जिल्लाको प्रख्यात अन्नबाली मानिन्छ । सिंजा उपत्यका मार्सी धान उत्पादन हुने उर्वर भूमिका रूपमा पनि प्रख्यात छ । सिंजाको परिचय यति मात्रले पुग्दैन । सिंजा उपत्यका खस राज्यको उत्पत्ति र नेपाली भाषाको उद्गमस्थल समेतका दृष्टिले उत्तिकै महत्त्व राख्ने क्षेत्र पनि हाे । जुम्ला जिल्लाको निकट मुगु जिल्ला र सो जिल्लामा रहेको प्रख्यात स्वर्गकी अप्सराको प्रतीकको रूपमा रहेको रारा तालको समेत अवलोकनगर्न सजिलाे हुन्छ । वि.सं. १२०७ तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले सिंजा उपत्यकामा खस साम्राज्यको स्थापना गरेका थिए । नागराजलाई जावेश्वर पनि भनिन्थ्यो । तिब्बती वंशावलीमा जावेश्वरलाई नागराज भनी उल्लेख गरेको ऐतिहासिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । खस राज्य पूर्वमा नुवाकोट, पश्चिममा कुमाउ गढवाल, उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तुसहित तराईका धेरै भू–भागसम्म फैलिएको थियो । नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेखेको भन्ने इतिहासकारको भनाइ छ । खस राज्यको अस्तित्व नेपाल एकीकरण हुनुपूर्व २२६ वर्षसम्म रहेको थियो । खसहरू पूर्व शोभियत गणराज्य अजरबैजानको ककेसस पहाड हुँदै इरान, इराकको बाटोबाट भारतको हिमाञ्चल र उत्तराखण्ड प्रवेश गरेको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ । यसरी हिमाञ्चल र उत्तराखण्ड प्रवेश गरेका खसहरू ११औँ शताब्दीको अन्त्यतिर सिंजा उपत्यका प्रवेश गरी बसोवास गर्दै आएको देखिन्छ ।
जुम्ला जिल्लाकाे बारेमा र सिंजा सभ्यताकाे बारेमा उल्लेख गर्दैगर्दा जुम्लाकाे मार्सीधानकाे चर्चा नगर्दा याे लेख नै अपूर्णहुने सम्झेर मेराे अध्ययन र जानकारी अनुसार मार्सी चामलकाे बारेमा पाठकज्यूहरू समक्ष थाेरै जानकारी प्रस्तुतगर्ने अनुमति चाहन्छु ।
जुम्लाको कालीमार्सी :
कालीमार्सी सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सबैभन्दा उचाई अर्थात् समुद्र सतहबाट करिब तीन हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र उत्पादनहुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषकतत्वको कारण जुम्ली मार्सी धानको महत्त्व यतिखेर नेपालमा लगायत अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ । जुम्लामा करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ ।
किंवदन्ती अनुसार सुरूमा जुम्लामा कुनै पनि धान उत्पादन हुन सकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर सुरूमा “लाछु जिउरो” अर्थात तातोपानी नजिकको गाउँ भन्ने ठाउँमा रोपेका र पछि अरू किसानले पनि यसैगरी रोप्दै गएको भनाइ छ । जुम्लाको खलंगा वरपर र सिंजा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक वर्ष चैत १२ गते
हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र तामाको खड्कुलो वा हण्डीमा धान भिजाएर राखिन्छ । चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरूवा अर्थात् उनको कपडामा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । यसरी राखिएको धानको रासलाई तातोस भनेर सल्लाको पिराेल (झाँपो) र कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१–२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ ।
यसै दिन चेलीबेटीलाई बोलाएर देउडा नाच नचाइन्छ । यो दिनलाई विसुवा पर्व भन्ने गरिन्छ । बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व पनि भन्ने गर्दछन् । चैत १२ गते काली मार्सीको बीउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा विसुवा पर्व मनाउने प्रचलन जुम्लामा छ । चैत २० गते ब्याडमा धानको बीउ छर्नु पूर्व त्यसको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङ्गा ठडाइन्छ । बाबा चन्दन- नाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाने चलन पनि रहेको छ । काली मार्सी धान काट्न विशेष दिन पारिन्छ । बुधबार वा शुक्रबार पारेर मात्रै धान का्टने परम्परा छ । जुम्लामा मार्सी धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा घरमा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती भनूँ कि अन्धविश्वास रहिआएकाे छ ।
लेखक :- मान सिंह धामी (औल्लेकी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला
सन्दर्भ ग्रन्थ :
पाँडे भीम बहादुर (२०७६), त्यस बखतकाे नेपाल, पाेष्ट प्रेस प्रा. लि. काठमाण्डाै ।