नेपाली समाजमा परम्परागत कालदेखि नै शिक्षकलाई अत्यन्तै सम्मानित र उच्च दर्जाको व्यक्तिका रूममा हेर्ने गरिन्छ । शिक्षालाई समाजको मेरुदण्ड मानिन्छ । एक असल शिक्षकले विद्यार्थीको जीवनमा ज्ञान, प्रेरणा र नैतिकता मूल्यहरूको दीप जलाउँदछ । शिक्षकले केवल किताबी ज्ञान मात्र नभई जीवनका महत्वपूर्ण पाठहरू पनि सिकाउँछन्। विद्यार्थीलाई असफलताबाट डराउनुको सट्टा त्यसलाई सिकाइको अवसर बनाउन पनि एक असल शिक्षकले प्रोत्साहन गर्दछ।
हाम्रो विश्वविद्यालयको प्राङ्गणमा मैले थुप्रै प्राध्यापकहरुबाट ज्ञान आर्जन गर्ने अवसर पाए तर तीमध्ये केही व्यक्तित्वहरू यस्ता छन् जसले केवल कक्षाकोठाको सिकाइमा मात्र सीमित नरही बरु विद्यार्थीहरूको जीवन र विश्वविद्यालयको शैक्षिक गुणस्तरमा निस्वार्थ भावले लागि पर्छन् ।यसरी विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै विश्वविद्यालयलाई गुणस्तर र उत्कृष्टताको बाटोमा डोर्याउनका लागि अतुलनीय योगदान एक प्रेरणादायी व्यक्ति हुनुहुन्छ । दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक आदरणीय गुरु डम्मर सिंह साउद सर ।
आदरणीय गुरु डम्मर सिंह साउद सरसँग मेरो पहिलो भेट पहिलो सेमेस्टरको अङ्ग्रेजी विषयको कक्षामा भएको थियो । उहाँले पढाउने शैली, विषयवस्तुप्रतिको गहिरो ज्ञान र त्यसलाई बुझाउने शैलीले म प्रभावित भएकी थिए।
उहाँले अङ्ग्रेजी विषयलाई केवल व्याकरण र साहित्यमा सीमित नराखी। त्यसलाई जीवनका विभिन्न आयामसँग जोडेर पढाउनुहुन्थ्यो। जसले गर्दा जटिल लाग्ने अवधारणाहरू पनि सहजैसँग बुझ्न सकिन्थ्यो । उहाँको कक्षा सधैँ रमाइलो ,अन्तरक्रियात्मक र सिकाइले भरिपूर्ण हुन्थ्यो । जसले हामीलाई निष्क्रिय स्रोत मात्र नभई सक्रिय सहभागी बनाउँथ्यो।
उहाँको सबैभन्दा उल्लेखनीय विशेषता भनेको प्रत्येक विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान गर्ने र त्यसलाई उजागर गर्ने उहाँको असाधारण क्षमता हो। उहाँले विद्यार्थीहरुलाई केवल परीक्षामा कसरी राम्रो अङ्क ल्याउने भन्ने कुरा मात्र न सिकाइ आलोचनात्मक सोचको विकास गर्ने ,प्रश्न गर्ने ,तर्क गर्ने र आफ्नो विचार स्पष्ट रुपमा राख्न सिकाउनु हुन्छ। उहाँले विद्यार्थीका ससाना प्रतिभालाई पनि चिनेर उचित अवसर प्रदान गर्नु हुन्छ । जसले गर्दा धेरै विद्यार्थीहरुले लेख्न ,साहित्य, वादविवाद र नेतृत्व जस्ता विभिन्न क्षेत्रहरुमा आफ्नो क्षमता विकास गर्न सफल भएका छन् । उहाँले कक्षामा हरेक विद्यार्थीलाई बोल्ने, विचार व्यक्त गर्ने र प्रस्तुत गर्ने अवसर दिनुहुन्छ।
उहाँको प्रतिभा केवल कक्षाकोठामा मात्र सीमित छैन। उहाँले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र दार्चुला बहुमुखी क्याम्पसलाई उत्कृष्ट केन्द्र बनाउनका लागि पनि महत्वपूर्ण योगदान प्रदान गर्नु भएको छ ।उहाँले विश्वविद्यालयको शैक्षिक सुधारका लागि विभिन्न लेखहरू लेख्नु हुन्छ। जुन लेखहरूले शैक्षिक नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शन गर्न मद्दत गरिरहेको छ । उहाँले विद्यार्थीहरूलाई स्वअध्ययन र आजीवन सिकाईका लागि प्रेरित गर्नुहुन्छ। जसले गर्दा हामीलाई पाठ्यक्रमभन्दा बाहिर गएर पनि ज्ञान आर्जन गर्ने सुनौलो अवसर प्रदान हुन्छ।
उहाँ केवल एउटा शिक्षक मात्र नभई मार्गदर्शक र एक कुशल व्यक्तित्व विकासकर्ता पनि हुनुहुन्छ । उहाँले हामीलाई शैक्षिक ज्ञानका साथै नैतिक मूल्यमान्यता , सामाजिक जिम्मेवारी र जीवनउपयोगी सीपहरू पनि सिकाउनु हुन्छ । उहाँले असफलताबाट कसरी सिक्ने, चुनौतीहरूको सामना कसरी गर्ने र सधै सकारात्मक कसरी रहने भन्ने जस्ता महत्त्वपूर्ण पाठहरू पनि सिकाउनु हुन्छ । उहाँको धैर्यता, विद्यार्थी मैत्री व्यवहार र सधै सहयोगका लागि तयार रहने भावनाले उहाँलाई एक असल शिक्षक बनाएको छ ।
उहाँको व्यक्तिगत आचरण र अनुशासनले पनि हामीलाई आदर्श जीवन जिउने प्रेरणा दिन्छ। उहाँ क्याम्पस र समाजका लागि एक अमूल्य सम्पत्ति हुनुहुन्छ। यहाँले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनिय छ। उहाँ प्रति हृदय देखि नै धन्यवाद व्यक्त गछु ।

शिक्षक :डम्मर सिंह साउद
– लेखक बसन्ती बोहरा सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।