प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध छ मन्त्री पौडेल

दार्चुला – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। सञ्चार क्षेत्रमा रहेका केही विकृति नियन्त्रणका लागि सरकारले बेलाबेलामा कानून ल्याउने कुराहरु बाहिर आउने गरेका भए पनि सुशासन कायम राख्नका लागि स्वतन्त्र प्रेस आवश्यक हुने उनको तर्क थियो।

वर्तमान सरकारले जनतासामु गरेका प्रतिबद्धताअनुसारनै काम गरिरहेको भन्दै पौडेलले जनताका गुनासा र मागका आधारमा सरकारका काम कारबाही अघि बढ्ने बताए। हरेक क्षेत्रको विकासका लागि सबैको सहकार्य र एकता आवश्यक हुने भन्दै पौडेलले एकले अर्कोलाई सहयोग गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपाल बागलुङ शाखाको पाँचौँ जिल्ला भेला को उद्घाटन कार्यक्रममा आज उनले अपुष्ट समाचारका कारण पत्रकारिताको मर्यादामा आँच आउने काम भइरहेको बताए। “अनलाइन मिडियाका साथीहरु नरिसाउनुहोला, बिना प्रमाणका अपुष्ट समाचारका कारण आज पत्रकारिता क्षेत्रको मर्यादा कायम हुन सकेको छैन”, पौडेलले भने, “व्यावसायिक पत्रकारिता गर्नुहोस्, देशको राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्छ।”

उनले बितेका केही वर्षमा भएका गतिविधिको समीक्षा गर्दै लोकतन्त्र र सङ्घीयता बलियो बनाउने काममा अझ सशक्त हिसाबले लाग्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढासागरले परिवर्तनको आभाष जनताले गर्ने गरी सरकारले काम गरेको बताए।

Leave A Reply

Your email address will not be published.