अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतको पहिलो जित,

दार्चुला – आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतको पहिलो जित, निकालेको छ। सुपर १२ को समूह दुई अन्तर्गत गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितसँगै भारतले सेमिफाइनलको झिनो सम्भावना कायमै राखेको छ ।

आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनायो । भारतका रोहित शर्माले ७४ तथा केएल राहुलले ६९ रनको अर्धशतकीय पारी खेले । हार्दिक पाण्ड्या ३५ र रिसभ पन्त २७ रनमा अविजित रहे ।

अफगानिस्तानका करिम जन्नत र गुलबदिन नइबले एकरएक विकेट लिए । दुई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका करिम जन्नतले अविजित ४२ तथा कप्तान मोहम्मद नाबीले ३५ रन जोडे ।

भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले एकरएक विकेट लिए । यसअघिका खेलमा भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो। भारतले शुक्रवार स्कटल्यान्डसँग र सोमवार नामिबियासँग खेल्नेछ ।

यी दुवै खेलमा फराकिलो जित र न्युजिल्यान्ड बाँकी दुई खेलमा एकमा पराजित भए मात्रै भारत नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने झिनो आशा कामयै छ । सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

भारत चौथो र नामिबिया पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको स्कटल्यान्ड बाहिरिएको छ ।

Leave A Reply

Your email address will not be published.