दार्चुला – इरान र अरु ६ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्युँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता छिट्टै हुने भएको छ ।
आउँदो नोभेम्बर २९ तारिखमा वार्ताका लागि भियनामा भेट्ने सहमति भएको इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले बताउनुभएको छ । इरानमा गएको जुन महिनामा नयाँ राष्ट्रपति चुनिएपछि वार्ता रोकिएको थियो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा अमेरिका सम्झौताबाट पछि हटेको थियो ।
तर वासिङ्टनले फेरि वार्तामा सामेल हुन सक्ने बताउँदै आएको छ । जो बाइडेन प्रशासनले भियनामा हुने वार्ताका लागि उपस्थित हुने जनाएको छ । वार्तामा सम्झौताका अरु हस्ताक्षरकर्ता बेलायत, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुनेछन् ।
इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको बीबीसीले जनाएको छ । सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो ।