सभापतिमा एक जनामात्रै उठ्ने पौडेल पक्षको प्रतिबद्धता

दार्चुला । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जनाएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँ अनुसारको उम्मेदवारी दिने बताउनुभयो । उहाँले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र देशको अस्तित्वलाई जोगाउन एकताबद्ध भएर जाने पनि बताउनुभयो । अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने वरिष्ठ नेता पौडेलको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले अभूतपूर्व रूपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान् व्यक्तिहरूलाई पीडा भएको बताउनुभयो । पौडेल पक्षले कांग्रेसको वडा अधिवेशन सुरु हुनुभन्दा एक दिन अघिसम्म पनि सभापतिका आकाङ्क्षीहरूबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेदवारी दिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकाङ्क्षीहरू पौडेलसहित महामन्त्री डा। शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, डा। शेखर कोइरालालगायत सहभागी हुनुभएको थियो भने महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता गगनकुमार थापा पनि सहभागी हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.