दार्चुला । दार्चुला उद्योग वाणिज्य संघले साधारण सदस्यहरूको सदस्यता नविकरण र नयाँ सदस्यताको लागि आह्वान गरेको छ ।
संघले गएको आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी कार्तिक १५ गते भित्र पुराना सदस्यहरूलाई सदस्यता नविकरण गर्न र नयाँ सदस्यता इच्छुक व्यवसायीहरूलाई आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरेको छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश सिह थापाले व्यवसायीहरूलाई औपचारिक रूपमा संघसँग आबद्ध गराउने उदेश्यले नविकरण र नयाँ सदस्यताको लागि आह्वान गरेको उनले बताए ।
उद्योग वाणिज्य संघको ९ औँ कार्यकारणी समितिको निर्वाचन निकट भविष्यमा हुने भएकाले सोही निर्वाचन प्रयोजनका लागि सदस्यता नविकरण र नयाँ सदस्यताको लागि आह्वान गरेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ ।
निर्वाचनको मिति घोषणा भएपछि संघको विधान अनुसार निर्वाचन प्रयोजनका लागि सदस्यता नविकरण र नयाँ सदस्यता दिन नसकिने दार्चुला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विशन सिह बोहराले जानकारी दिए ।
सदस्यता नविकरण गर्दा सक्कल इजाजत पत्र,प्रमाण पत्र र स्थायी लेखा नम्बर देखाई सोको प्रतिलिपि कार्यालय प्रमु्खबाट प्रमाणित गराउनु पर्ने,नयाँ सदस्यता लिनका लागि रितपुर्वक आवेदन भरी नेपाल सरकारको उद्योग बाणिज्य तथा मन्त्रालय लगायतका निकायमा दर्ता भएको प्रमाण पत्र र स्थानीय लेखा नम्बर पेश गर्न भनेको छ ।
संघले तोकिएको मिति पछि आउने आवेदनहरूलाई मान्यता नदिइने स्पष्ट पारेको छ । छिट्टै ब्यबसायीहरुको भेला बोलाएर अधिबेशनको तयारी बारे जानकारी गराउइने उपाध्यक्ष बोहराले बताए । अहिले उद्योग बाणिज्य संघ दार्चुलामा झण्डै ३ हजारको हाराहारीमा साधारण सदस्यहरू रहेको बताइएको छ ।
