दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका –२ सेलिचामामा पहिलो पटक साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय मोहन सिह धामीले सिडि हर्वल साबुन उद्योग संञ्चालनमा ल्याएका हुन ।
विगत ६ वर्ष देखि पालिकाका दुई ठाउँबाट खेर गइरहेको चिउरी लगायतका स्थानीय जडीबुटीबाट गाउँमै साबुन उत्पादन हुन थालेको संञ्चालक धामीले बताए ।
साबुन उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ चिउरी प्रसस्तै पाइने र साबुनको बजारको सम्भावना पनि राम्रो भएकाले साबुन उद्योग संञ्चालनमा ल्याएको उनले बताए ।
हिजोआज साबुनको माग जिल्ला बाहिरबाट समेत आउन थालेको छ । डडेल्धुरा, धनगढी र महेन्द्रनगरबाट माग हुन थालेको उद्योगका सञ्चालक धामीले बताए ।
सिडि हर्वल साबुन उद्योग गाउँपालिकाको वडा–२ र ८को खोलिचौराबाट सेवा दिइरहेको छ । सुगन्धित, छाला चम्किलो बनाउने र चायाँपोतो समेत हटाउने यस साबुनको विशेषता रहेको छ ।
उत्पादन गरिएको नुहाउने साबुन प्रतिगोटा ५० रुपैयाँ र कपडा धुने साबुन प्रतिगोटा ४० रुपैयाँ मूल्य निर्धाण गरिएको छ ।
बजारीकरणका अवस्था हेरी उद्योगलाई अझै विस्तार गर्ने सोचमा रहेको संञ्चालक धामीले बताउनुभयो । संञ्चालक धामीले भविष्यमा बजार व्यवस्थापन गर्न सके कामदार राख्ने अपेक्षा गरेका छन्। 