दार्चुलामा फरार कैदीबन्दीलाई आज साँझसम्म कारागार फर्किन अल्टिमेटम

दार्चुला । कारागार कार्यालय, दार्चुलाले फरार कैदीबन्दीलाई सोमबार (आज) साँझ ५ बजेसम्म कारागारमा फर्किन अल्टिमेटम दिएको छ ।

कारागार कार्यालयले आज बेलुकीसम्म फर्कि नआएमा कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन अनुसारको कारबाही हुने चेतावनीसमेत दिएको हो ।

साथै, फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरूलाई समेत कसुरदार ठानी प्रचलित कानून बमोजिम कारबाही हुने कारागार कार्यालय दार्चुलाले जनाएको छ ।

फरार रहेका कैदी तथा थुनुवाहरूलाई उक्त समय भित्र उपस्थित गराउन हुन तथा पक्राउ गरी पुनः कारागारमा बुझाइदिन हुन निजहरूको परिवार, समुदाय, नागरिक समाज, पत्रकार, सम्बन्धित सरकारी निकाय, स्थानीय तह अन्तर्गतका कार्यालयहरू, संघ संस्थाहरू तथा सरोकारवाला निकाय व्यक्तिहरू सबैमा अनुरोध समेत गरिएको छ ।

सूचनामा फरार कैदीबन्दीबारे जानकारी दिएर सहयोग गरिदिन पनि सबैसँग आग्रह गरिएको छ । जानकारी दिनेको पहिचान गोप्य राखिने सूचनामा उल्लेख छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७१ जना कैदीबन्दीहरू कारागारबाट भागेका थिए ।

जसमध्ये ६३ जना कारागार फर्किएका छन । अन्य ८ जना सम्पर्कमा नआएकाले तत्काल कारागार फर्किन आग्रह गरिएको छ ।

गत यसअघि असोज १२ गते कारागार कार्यालयबाट समेत फरार भएका कैदीबन्दीहरू सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.