ए हजुर पनि प्रोफेसर पो

प्रा. डा. मन प्रसाद वाग्ले

शक्ति केन्द्र धाएर, दलको चाकडी गरेर, विश्वविद्यालयभित्र दलीय राजनीति भित्राएर, खेमा खेमामा बाँडिएर संघ संगठनको प्रतिनिधित्व गर्ने अनि सभा, गोष्ठी, विदेश भ्रमणमा समेत तर मार्ने हजुर पनि प्रोफेसर? हैट
कक्षा खाली राखेर राजनीतिक दलको दृश्य वा अदृश्य पदाधिकारी बनेर दलकै क्रियाकलापमा रमाउने, विश्वविद्यालय वा अन्य शैक्षिक संस्थामा राजनैतिक दलको कोटाबाट विभिन्न समिति, बोर्ड, परिषदमा हाली मुहाली जमाउने हजुर पनि प्रोफेसर नै हो त? हैट
राजनीतिक दललाई मोटो रकम बुझाएर, महिनै पिच्छे तलब र सुबिधा बापत प्राप्त हुने रकमबाट लेभी बुझाएर कुनै उच्च पदमा आसीन हुने र घुमी फिरी यौटा संस्थाबाट अर्को संस्था गर्दै पटक पटक उच्च पदासीन हुने हजुर पनि प्रोफेसर नै हो? हैट
राजनीतिक दलको स्वार्थ पूर्ति गर्न आफू उच्च पदमा रहेको संस्था भित्र राजनीतिक कार्यकर्तालाई रोजगारी दिएर सक्षम उम्मेदवारलाई पाखा लगाउने अपराधी हजुर अझै पनि प्रोफेसर नै हो त? हैट
अरूले लेखेको सारेर, बाहिरी गाता मात्रै प्रेसमा छापेर आफ्नो अनुसन्धान र पुस्तक भन्दै सेवा आयोगमा बुझाएर आफू भन्दा सक्षमलाई पछाडि पार्ने र आफैं प्राध्यापक बन्ने दाउ हान्ने के हजुर वास्तवमै प्रोफेसर हो? हैट
५-७ लाख बुझाएर छिमेकी मुलुकको कुख्यात विश्वविद्यालयका प्रमाणपत्र किनेर म त पिएचडी भन्दै सेवा आयोगमा ८ अङ्क थप गराउंदै नाम निकाल्न सफल हुने हजुर पनि प्रोफेसर नै हो त? हैट
अनुसन्धानको नाममा फुट्टी प्रकाशन नभएको तर प्रा.डा लेख्न सक्ने दुस्साहस गर्ने के हजुर प्रोफेसर नै हो त? हैट
दाम आउँछ भनेर जुनसुकै गैर सरकारी संस्थाको दास भएर आफ्नो बुद्धि बन्धकीमा राखी उनीहरूको हित हुने प्रतिवेदन तयार पारिदिने मान्छे हजुर पनि प्रोफेसर नै हो त? हैट
आफूले पढाएका अधिकांश विद्यार्थी परीक्षामा असफल हुने र दशौँ वर्ष यो क्रम बढ्दै जाँदा विद्यार्थीले खोजेको शैक्षिक सहयोग दिन नसक्ने तर जागीर मात्रै खाने हजुर पनि प्रोफेसर नै हो त? हैट
विद्यार्थीले थेसिस लेख्दा सुपरभाइजर बन्ने तर फूर्सद छैन भन्दै रेस्टुराँमा बोलाएर छलफल गरे जस्तो गर्ने र विद्यार्थीलाई बील तिराउने, अझ पिएचडी को अन्तिम प्रस्तुतिको दिन उसैको लाखौं खर्च गराएर विभाग वा संस्थाको पुरै टीमले मादक पदार्थ सहित डिनर भोजन गर्दा कत्ति पनि ग्लानी महशुस नगर्ने हजुर पनि प्राध्यापक पो? हैट
✍️ प्रा. डा. मन प्रसाद वाग्ले
काठमाडौँ विश्वविद्यालय

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!