दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मर्यादित रुपमा दिपावली मनाउन आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै नेपालीहरुको दोस्रो ठुलो महानचाड शुभदिपावली मर्यादित रुपमा मनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका हुन ।
“कानुनले निषेध गरेका गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । नेपाल सरकारद्धारा प्रतिबन्धित कुनैपनि किसिमका विष्फोटक पदार्थ पटका,भुईचम्पा रकेटको खरिद विक्री ओसारपसार तथा प्रयोग पुर्णरुपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।
यस्तै मनोरञ्जनका नाममा जुवातास खेल्ने खेलाउनेजस्ता गैरकानुनी तथा विकृतीजन्य कार्यहरु समेत नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले जानकारी दिए ।
चाडपर्वको समयमा बजारमा गुणस्तरहीन सडेगलेका अखाद्यबस्तुहरुको विक्रीवितरण हुनसक्ने भएकाले उपभोग्यबस्तुको उत्पादन मिति तथा गुणस्तर यकीन गरेर मात्र खरिदविक्री गर्न भनेको छ ।
दिपावलीको बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउने,होहल्ला गर्ने,पारिवारिक तथा सामाजिक सदभाव खल्बल्याउने कार्यपुर्णमा बन्द गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।
सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरिएको छ । सूचनामा उल्लेखित विषयको पालना नगरे प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । यो वर्षको तिहार पर्व कात्तिक २ गते देखि सुरु भएर कात्तिक ६ गते भाइटिकाको दिन सकिनेछ।
