मालिकार्जुन मन्दिरमा बसेको समन्वयात्मक बैठक सकियो, के -के गर्‍यो निर्णय ?

दार्चुला । दार्चुलाका विभिन्न शक्तिपीठमा लाग्ने जात्राहरूलाई व्यवस्थित, मर्यादित तथा सभ्य र भव्य ढंगले सञ्चालन गर्न आइतबार (आज) मालिकार्जुन मन्दिरको प्राङ्गणमा बसेको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

शैल्यशिखर पुजन जात्राको अवसरमा धार्मिक, सामाजिक र सांस्कृतिक महत्वलार्ई मध्यनजर गर्दै बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको सुरक्षा समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । बैठकले विशेष सुरक्षा तथा यातायात व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको उनले बताए ।

मालिकार्जुन धाममा लाग्ने रात्रीकालीन जात्राको दिन राति १२ बजेदेखि बिहान ६ बजेसम्म कुनै पनि सवारीसाधन सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको बताए । यद्यपि अत्यावश्यक र जटिल कारणले गाडी चलाउनुपर्ने अवस्था आएमा प्रहरी अधिकारीहलाई जानकारी दिएमात्र सवारी साधन चलाउन पाइने भएको छ ।

बैठकले जात्राको सुरक्षालाई थप सुदृढ बनाउन बुधबार १२ गतेदेखि मदिरा ओसारपसार, गर्न रोक लगाएको र १६ गते बिहान देखि शैल्यशिखर नगरपालिका वडा नम्बर ५ , वडा नम्बर ६ र ७ भित्रका  का मदिरा डिलर हरु १९ गते सम्मका लागि पुर्ण रूपमा प्रतिबन्ध  गरिने   निर्णय  समेत गरेको छ । निर्णयको उल्लङ्घन गरी जाडरक्सी ओसारपसार गरेको वा सेवन गरेको भेटिएमा कानूनी कारवाही गरिने चेतावनी समेत जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जात्रा अवधिमा कुनै पनि अवाञ्छित वा अशान्तिपूर्ण गतिविधि गरेमा कडा कानूनी कारवाही हुने स्पष्ट जानकारी दिनुभएको छ ।

सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती रहने निर्णय गरिएको गरिएको छ, भनले भने, यस वर्षको पुजन जात्रामा सुरक्षा व्यवस्था विगतका वर्षभन्दा अझ सशक्त र व्यापक हुने प्रहरी प्रमुख गौरव महतले जानकारी दिनुभयो । उहाँका अनुसार जात्राको भीड व्यवस्थापन, दुर्घटना नियन्त्रण र आपतकालीन उद्धारका लागि विशेष टोलीहरू परिचालन गरिने बैठकमा उनले बताएका छन । जात्राको दिन सादापोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने बताउनु भयो ।

बैठकमा बोल्दै मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा धामीले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको धरोहर मानिने शैल्यशिखर पुजन जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्नु अहिलेको ठूलो चुनौती बनेको बताए ।
उहाँले स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति र नागरिक सबैको संयुक्त प्रयासले मात्र यस पवित्र परम्परालाई सुसंस्कृत, सुरक्षित र अनुशासित रूपमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

शैल्यशिखर पुजन जात्रा केवल धार्मिक उत्सव मात्र नभई दार्चुलाको सांस्कृतिक पहिचानको प्रतीक हो । यसको व्यवस्थापन, सुरक्षा र धार्मिक मर्यादाको संरक्षण सबैको सामूहिक जिम्मेवारी हो, जसले प्रदेश र राष्ट्रकै गौरव बढाउनेछ, उहाँले भन्नुभयो ।

मालिकार्जुन मन्दिरमा आज भएको सर्वपक्षिय छलफलमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र सिंह धामी, शैल्यशिखर नगरपालिका प्रमुख जिजयसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, महाकाली नगरउपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहित सुरक्षा निकायका प्रमुखहरु, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, नजिकका वडाअध्यक्षहरुसहित जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवालाहरु, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.