दार्चुला । दार्चुलाका दुई मतदान केन्द्रलाई स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
हाल रहेका मतदान केन्द्र भवन जीर्ण रहेका कारण दुई वटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न दुई वटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक अनिल पौडेलले जानकारी दिए ।
गत कात्तिक २७ गते बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लाको अपि हिमाल गाउँपालिका–६ मा रहेको महिला सङ्घ आधारभूत विद्यालय सितोलाको मतदान केन्द्रलाई नजिकै रहेको महिला सामुदायिक भवनमा स्थानान्तरणका लागि सिफारिस गरिएको उनले बताए । विद्यालय भवन जीर्ण तथा विद्यालय मर्ज भएका कारण मतदान केन्द्रलाई स्थानान्तरण गरिएको बताइएको छ ।
यस्तै नौगाड गाउँपालिका–३, जामिरस्थित सत्सङ्ग भवनमा रहेको मतदान केन्द्रलाई नजिकै रहेको आधारभूत अस्पताल जामिरमा स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए । नौगाड खोलामा आएको बाढीले हाल रहेको मतदान केन्द्रको प्राङ्गण बगाएको तथा भवन जोखिममा रहेका कारण मतदान केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको उनको भनाइ छ । ०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा ११२ मतदान स्थल र १४१ मतदान केन्द्र कायम भएको थियो ।