दार्चुलाको नौगाड गाउँपालिका सुदूरपश्चिम प्रदेशमै दोस्रो स्थानमा उक्लियो

दार्चुला । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा दार्चुलाको नौगाड गाउँपालिका सुदूरपश्चिम प्रदेशमै दोस्रो स्थानमा रहेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीले आयोजना गरेको एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये दार्चुलाको नौगाड गाउँपालिका दोस्रो स्थानमा पुगेको हो ।

स्वास्थ्य सेवा प्रवद्र्धन तथा प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएकोमा गाउँपालिकालाई सम्मान गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, सूचक सुधार र कार्यक्रम कार्यान्वयनमा देखाएको प्रभावकारी कामकाजका कारण यो उपलब्धि हात पारेको गाउँपालिका अध्यक्ष दलजित सिह धामीले बताए ।

स्वास्थ्य सेवाका लागि गाउँपालिकाले गरेका प्रयासहरू, स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवाहरू, तथा मातृ–शिशु स्वास्थ्य, खोप कार्यक्रम, सरसफाइ र पोषण अभियानमा प्राप्त सफलताका कारण नौगाड प्रदेशभरि मै दोस्रो भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्मानपत्रमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिबद्धता, स्वच्छ प्रशासन, जनसहभागिता र स्वास्थ्यकर्मीहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा गरिएका निरन्तर प्रयास र उपलब्धीले नौगाड गाउँपालिकालाई अझ जिम्मेवारीका साथ सेवा विस्तारमा प्रेरित गर्ने गाउँपालिमका अध्यक्ष दलजीतसिह धामीले बताए ।

यो सफलतामा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा मूल्याङ्कनमा संलग्न सबैप्रति गाउँपालिकाले धन्यवाद ज्ञापन समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.