दार्चुलामा यो बर्ष १ हजार ३ सय मेट्रिक टन मात्रै स्याउ उत्पादन

दार्चुला । दार्चुलामा यो बर्ष १ हजार ३ सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको छ ।

गत वर्ष करिब २ हजार २ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष मात्र १ हजार ३ सय मेट्रिक टन उत्पादन भएको कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ दार्चुलाका प्रमुख कमल तामाङले जानकारी दिए ।

असिनापानीका कारण यस वर्ष उत्पादनमा ठूलो कमी आएको उनको भनाई छ । दार्चुलामा जिल्लामा स्याउको उत्पादकत्व ८.३५ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।

जिल्लाको अपिहिमाल, नौगाड, व्याँस र मार्मा गाउँपालिकामा कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत स्याउ खेती विस्तार गरिएको छ ।

व्याँसको छाङरु, नौगाडको जात्रा र मानाकोट, अपिहिमालको पाथा, खण्डेश्वरी र लिथिमा स्याउ उत्पादन भइरहेको कार्यालय प्रमुख तामाङले जानकारी दिए ।

दार्चुलामा उत्पादन भएको अधिकांश स्याउ स्थानीय बजारमै खपत हुने गरेको छ ।किसानहरुले पछिल्लो समय उत्पादन बढाउँदै लगेका छन् ।

किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् ।

दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.