दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका थप तीन वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने भएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार यहि महिना थप तीन वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने तयारी भएको जनाएको छ ।
पछिल्लो समय बालविवाह हुनै छोडेपछि पालिकाको वडा ४,५र ७ वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको हो ।
मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति, २०७६ लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र सीआरडीएस नेपालले बालविवाह विरुद्ध अभियान संचालन गरेर कार्यक्रम गर्दै आएका छन् ।
सामाजिक कुरीतिका रुपमा रहेको बालविवाहलाई कानूनी मान्यता अनुसार सामाजिक चेतना, जाँगरण र प्रतिवद्धताका साथ मालिकार्जुन गाउँपालिकालाई यो वर्ष भित्र बालविवाहमुक्त पालिका बनाउने रणनीतिक योजनाका साथ अगाडी बढिरहेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाको वडा नम्बर २ र ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।
यस्तै गत आर्थिक वर्ष २०८१/८२मा वडा नम्बर ३ ,वडा नम्बर ८, र वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।
यो वर्ष थप तीन वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएपछि पालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गरिने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।