दार्चुला । दार्चुलामा यो वर्ष धान उत्पादनमा कमी आएको छ । जिल्लामा चालु आर्थिक वर्षमा धान उत्पादन ३.८५ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्षमा १२ हजार ५ सय ५८.४८ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष १२ हजार ७५ मेट्रिकटन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी शिशिर आचार्यले जानकारी दिए ।
गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन ४८३.४८ मेट्रिकटनले घटेको उनले बताए । यो कुल उत्पादनको करिब ३.८५ प्रतिशत हो । कृषि क्षेत्रमा परेको मौसमी प्रभाव, रोग–कीराको प्रकोप लगायतको कारण यो बर्ष जिल्लामा धान उत्पादनमा कमी आएको बताईको छ ।
दार्चुलामा ४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । दार्चुलामा वार्षिक १२ हजार ५५८ मेट्रिक टन अर्थात २ दशमलव ८४ प्रतिशत धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा मार्मा गाउँपालिकामा अधिकांश क्षेत्रमा रोपाइ हुने गरेको छ ।