अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमति

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) मा छुट्टै पहिचान बनाएको सुदूरपश्चिम रोयल्स र अपिहिमाल गाउँपालिकाबीच खेल पर्यटन प्रबर्दनमा सहकार्य गर्ने सहमति बनेको छ ।
गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहरा र सुदूरपश्चिमका रोयल्सका सिईओ प्रकाश खड्का बीच सहमति भएको हो । भेटघाट कार्यक्रममा दुवै पक्षबीच सुदूरपश्चिम प्रदेशको खेल पर्यटन विकासमा दीर्घकालीन सहकार्य गर्ने समझदारी बनेको अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले बताए ।

अध्यक्ष बोहराका अनुसार अपि हिमाल गाउँपालिकामा निर्माण हुने हाई अल्टिच्युड क्रिकेट रंगशाला सम्तेली चौडमा निकट भविष्यमै अभ्यास खेल आयोजना गर्ने समझदारी भएको छ । यस्तै सुदूरपश्चिम रोयल्सका खेलाडीहरूलाई रिफ्रेसमेन्टको लागि अपिहिमाल बेस क्याम्प ट्रेकिङ गराउने विषयमा समझदारी बनेको छ ।

अपि हिमाल गाउँपालिकाले थालेको अपि पर्यटन प्रबर्दनको लागि खेलाडीसँगै अपिहिमाल क्षेत्रको प्राकृतिक सुन्दरताको प्रमोशन गर्न लक्ष्य गाउँपालिकाले लिएको छ ।

यस्तै अहिले चलिरहेको एनपीलको ट्रफी रोयल्सले जितेमा टिमलाई अपिहिमाल भ्रमण गराउने समझदारी भएको छ । यो सहकार्यले खेल पर्यटन क्षेत्रको समग्र प्रवद्र्धनमा महत्वपूर्ण माइलस्टोन बन्ने अध्यक्ष बोहराको भनाइ छ ।

 

 

Leave A Reply

Your email address will not be published.